स्पेनी ला लिगामा हुने बहुप्रतिष्ठित अल क्लासिको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा ३–० ले हराएको हो । बार्सिलोनाका लागि लुइस सुवारेज, लियोनल मेसी र एलेक्स भिदालले गोल गरे ।
रियलको मैदान सान्टियागो वर्नावेउमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि बार्सिलोनाले दोस्रो हाफको खेलमा ५४औं मिनेटमा सर्जि रोबर्टोको पासमा लुइस सुवारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
रियलमाथि केही हाबी देखिएको बार्सिलोनाले ६४ मिनेटमा दोस्रो गोल गर्दै खेलको अग्रता दोब्बर पारेको थियो ।
पाउलिन्होको हेडिङ डिबक्स भित्र डिफेन्डर डानी कार्भाहलले ६२ मिनेटमा हातले रोकेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो । जसलाई लिओनल मेसीले गोलमा परिणत गरे ।
यसैबीच हातले बल रोकेको भन्दै डानीले रातो कार्ड पाएका छन् । म्याड्रिड ६२ मिनेटपछि १० खेलाडीमा सिमित हुन पुगे ।
त्यसपछि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा मेसीको पासमा भीडालले गोल गर्दै बार्सालाई ३–० को जित निकाले ।
आजको जितसँगै बार्सिलोना साबिक विजेता रियल म्याड्रिड भन्दा १४ अंकले अगाडि छ ।
शीर्ष स्थानमा रहेको बार्सिलोनाको १७ खेलबाट ४५ अंक भएको छ भने चौथो स्थानको रियलको १७ खेलबाट ३१ अंक मात्र छ ।
यस्तै ३६ अंकसहित एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ । एक खेल कम खेलेको भ्यालेन्सिया ३४ अंकसहित तेस्रो स्थानमा छ ।