मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपा एमालेका नेता लालबाबु पण्डितले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुने दाबी गरेका छन् ।
उनले भने, सरकारको नेतृत्व आलोपालो नहुने जिकिर गरे । ‘आलोपालो हुँदैन, पूरा पाँच वर्ष केपी ओली नै सरकार चलाउनुहुन्छ, यसमा कुनै दुई मत छैन, प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष दुवै ओली बन्न पनि सक्नुहुन्छ, अहिले हामी छलफलमा जुटेका छौं।’
नवनिर्वाचित सांसद रहेका नेता पण्डितले गठबन्धनमा रहेका नेताहरुलाई उचित किसिमले व्यवस्थापन गर्ने बारे पनि अहिले छलफल चलिरहेको सुनाए । उनले भने, ‘हिजो चुनावमा तालमेल गर्दा पनि एउटा मापदण्ड बनाएर हामी भाग लिएका थियौं, अब एकताको लागि पनि विशेष मापदण्ड बनाएर छलफलमा जुट्छौं, यति हो कि सबै नेताहरुको उचित व्यवस्थापन हुन्छ, यसमा कुनै द्धिविधा र दुई मत छैन्।’