माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको समृद्धि र विकासका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।
ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आफ्नो सम्मान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू दोस्रो पटक प्रधानमन्त्री बन्दा नेपाल, चीन र भारतबीच त्रिदेशीय साझेदारीको कुरा अगाडि बढाएको र त्यसको समेत वातावरण बन्दै गएको विश्वास व्यक्त गर्नुभयो ।
अहिले देशमा सुशासन र विकास आवश्यक भएको भन्दै प्रचण्डले त्यसका लागि दलहरुबीच समझदारी हुन आवश्यक भएको बताए ।
अर्काे प्रसङ्गमा अध्यक्ष दाहालले भन्नुभयो “वाम गठबन्धनको पक्षमा करिब दुई तिहाइ मत प्राप्त भएको छ । त्यो मतलाई हामी देश विकास र समृद्धिमा लगाउन प्रयत्नशील छौँ । जनताले पनि हामीबाट ठूलो अपेक्षा गरेका छन् । जनताको उक्त अपेक्षालाई हामी पूरा गर्छौं । कार्यान्वयनमा लैजान्छौँ ।”
उहाँले राजनीतिक स्थायित्व कायम गरेर देशलाई आर्थिक समृद्धिको दिशामा लैजान आफूहरु क्रियाशील रहेको बताउँदै अब सुशासन र विकासको युग शुरु भएको छ भन्नुभयो । “आर्थिक समृद्धि, सुशासन तथा जनताको पक्षमा काम गर्ने जिम्मेवारी वाम गठबन्धनको काँधमा आएको छ”, उहाँले भन्नुभयो ।
आफ्नै पहलमा राष्ट्रिय सभा सम्बन्धी अध्यादेश अगाडि बढेको भन्दै प्रचण्डले राजनीतिक निकासका लागि सबैसँग मिलेर जानु पर्ने बताए ।