मिडिया फेस्टिभल पुस २२ गते हुने

0

व्यावसायिक पत्रकारिताको आधार समावेशी सञ्चार भन्ने मूल नाराका साथ नेवाः पत्रकार राष्ट्रिय दबूले यही पुस २२ गते आयोजना गर्न लागेको मिडिया फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको आज मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराए ।
पाटन दरबार क्षेत्रको भण्डारखाल बगैँचामा सो फेस्टिभल गर्न लागेको छ भने मिडिया फेस्टिभलको नेपालमा नै पहिलो पटक हुन लागेको आयोजकहरुको दाबी रहेको छ ।
नेपाली सञ्चार क्षेत्रमा क्रियाशील व्यक्तिहरु, पत्रकारिता क्षेत्रका विज्ञ, समावेशी सञ्चारसंगै प्रत्यक्ष सरोकार राख्ने विविध सामुदायिक संघसस्थाका प्रतिनिधिहरु सम्मिलित गराएर समावेशी सञ्चारको विषयमा बहस र छलफल गर्ने उद्देश्यले यस फेस्टिभलको परिकल्पना गरिएको नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
सो अवसरमा मिडिया फेस्टिभल—११३८ का संयोजक सुरेन्द्रभक्त श्रेष्ठले नेपालको सञ्चारमाध्यम समावेशी हुनुपर्ने मान्यताले प्रेरित भएर फेस्टिभल आयोजना गर्न लागेको बताउनुभयो । संयोजक श्रेष्ठले भन्नुभयो– ‘भिन्न विचार र सोचलाई निषेध नगरीकन सबै खाले विचार अटाउनुपर्ने सन्देश प्रवाह गर्ने छ।’
महोत्सवको उद्घाटन २००९ सालमा कलाकार नामक पत्रिकामा नेपालभाषा, नेपाली र अंग्रेजी भाषामा पत्रकारिता गरेर समावेशी पत्रकारिताको उदाहरण पेश गर्नुभएका वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीबाट हुने छ ।