अभिनेत्री अनु शाहलाई अहिले पनि भ्याइनभ्याई छ । कहिले फिल्म, म्युजिक भिडियो त कहिले विज्ञापनको सुटिङ, कामैकामले गर्दा आफ्नो बारेमा सोच्ने फुर्सद पनि नभएको बताउँछिन्, उनी । भन्छिन्, ‘एकसँगै अर्को कामैकामका कारण मलाई समय मिलाउनै गाह्रो हुने गरेको छ । आफ्नो बारेमा सोच्ने फुर्सद त पटक्कै छैन ।’
कलाकारितामै करिअर बनाउने लक्ष्य लिएकाले आफूले विश्राम नलिई काम गरिरहेको कथन उनको छ । ‘सानैदेखि कलाकार नै बन्ने सपना देखेँ । समयक्रमले मलाई यही पेसामा ढोका खोलिदियो । अहिले हातभरि कामैकाम छन्, किन आराम गर्नू रु’ उनी भन्छिन्, ‘कहिले फिल्म, कहिले म्युजिक भिडियो त कहिले विज्ञापनको सुटिङ, अनि कहिले स्टेज सो, कहिलेकाहीँ त म आफू के गर्दै छु भन्नेसम्म पनि भुल्छु ।’
०६० सालमा दीपेन्द्र के खनालको निर्देशनमा बनेको ‘द युगदेखि युग’सम्म फिल्मबाट हिरोइनका रूपमा डेब्यु गरेकी अनुले त्यसपछि पछाडि फर्किएर हेर्नुपरेको छैन । फिल्म अभिनयभन्दा अघि नै केही म्युजिक भिडियोमा अभिनय गरेकी उनले अहिलेसम्म दुई दर्जनभन्दा बढी फिल्ममा आफ्नो कला देखाइसकेकी छिन् ।
द युगदेखि युगसम्मपछि ‘धर्मा’, ‘ठेगाना’, ‘आई एम इन लभ’, ‘रुद्राक्ष’, ‘भैरव’, ‘एउटा साथी’, ‘जन्मभूमि’, ‘लक्ष्य’, ‘शकुन्लता’, ‘गोरे’लगायतका फिल्ममा अभिनय गरिसकेकी उनले ६ सयभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् । आजको नयाँ पत्रिकामा खबर छ ।
एक दिनमै सकिने र पारिश्रमिक पनि तत्कालै पाइने भएकाले उनले म्युजिक भिडियोलाई अलि बढी समय दिने गरेको देखिन्छ । ‘म्युजिक भिडियोमा काम गर्न सहज छ,’ उनी भन्छिन्, ‘एकै दिनमा सुटिङ सकिन्छ । डबिङ पनि गर्नुपर्दैन । टिभी, युट्युबमा आइहाल्छ । त्यसैले पनि म्युजिक भिडियोको संख्या धेरै छ, मेरो ।’
अनु म्युजिक भिडियोमा व्यस्त साथै महँगी मोडल हुन् । अनुले एक सातामा पाँचवटासम्म म्युजिक भिडियोको सुटिङ सकेकी छिन् । केही समयअघि सम्पन्न ओएस म्युजिक अवार्डमा बेस्ट मोडलको अवार्ड जितेकी अनुको देश–विदेशमा हुने स्टेज कार्यक्रममा पनि उत्तिकै माग हुने गरेको छ । युनीलिभरको प्रोडक्ट प्रमोसन प्रोग्राममा दुई महिना देश भ्रमण गरेकी अनु हालै दुईटा फिल्म ‘साइन’ गरेको बताउँछिन् ।
‘भर्खरै दुईटा फिल्म साइन गरेँ,’ उनी भन्छिन्, ‘फागुन र वैशाखमा सुटिङ हुँदै छ । त्यसअघि आधा दर्जन म्युजिक भिडियोको सुटिङ सक्नु छ । त्यसैगरी, विदेशमा स्टेज सोका लागि जाने कुरा पनि भइरहेको छ ।’
आफूले कलाकारितामा अझै धेरै गर्न बाँकी रहेको बताउँछिन्, उनी । ‘म सिक्दै अघि बढिरहेकी छु,’ उनी भन्छिन्, ‘म अझ धेरै अघि बढ्न चाहन्छु । अहिले नै सेलाउँदिन । म दर्शकको मन जितेर आफ्नो बेग्लै पहिचान बनाउने प्रयत्नमा छु ।’
फिल्ममा आफूले हरेक प्रकारका भूमिका निर्वाह गरेको भए पनि अबचाहिँ एक्सन लेडीका रूपमा देखिने चाहना बढेको उनी बताउँछिन् । ‘मैले गाउँले, सहरिया, रफटफ, सोझी, आधुनिक, पीडित सबै प्रकारका भूमिका निर्वाह गरिसकेकी छु । अब मलाई एक्सन लेडीको रूपमा देखिन मन छ,’ उनी भन्छिन्, ‘त्यसका लागि मैले आफूलाई तयार गरिरहेकी छु । मेरो यो इच्छा छिट्टै पूरा हुने विश्वास छ ।’