पटुकीको दौडधुपमा रजनी

0

अभिनेत्री रजनी केसी ‘पटुकी’ फिल्मका निर्माताले शनिबार राजधानीमा आयोजना गरेको प्रेस भेटघाटमा प्रस्तुत भइन् । हत्तपत्त सार्वजनिक कार्यक्रममा देखा नपर्ने गरेकी रजनीलाई सञ्चारकर्मीले मिडियादेखि किन टाढा ? भनेर सोधे ।

आफू अभिनीत फिल्मको प्रमोसनमा हिँड्नुपर्ने वेलामा एकाएक देब्रे खुट्टाको लिगामेन्टमा समस्या देखिएकाले उपचारमा लाग्नुपरेको बताउँदै उनले भनिन्, ‘म मिडियादेखि कहिल्यै पनि ढाटा रहेकी छैन । आवश्यक पर्दा सधँै हाजिर भइरहेकी छु । तर, यत्ति हो कि मलाई विनाकारण प्रचारमा आउन मन लाग्दैन । मलाई त्यस्तो फुर्सद पनि हुँदैन ।’

रजनी प्रमुख भूमिकामा रहेको फिल्म पटुकी अबको शुक्रबार अर्थात् १९ माघदेखि प्रदर्शनमा आउँदै छ । फिल्ममा उनी गाउँले परिवेशकी नृत्यांगनाको भूमिकामा रहेको बताइन्छ । म्याक्टेन कालुको निर्माण अनि राम नेपालको निर्देशनमा बनेको फिल्ममा रजनीले आफूले खोजेकै भूमिका निर्वाह गर्न पाएको बताइन् ।

‘मैले सोचेको जस्तो भूमिकामा छ, पटुकीमा,’ उनले भनिन्, ‘पटुकी पूर्णतया नारीकेन्द्रित फिल्म हो । फिल्ममा हाँसो, खुसी, रोदन, पीडा सबै कुरा समावेश छ । त्यसैले दर्शकले मन पराउनेमा विश्वस्त छु ।’ रजनीलाई परदेशी गर्लका रूपमा पनि चिनिन्छ । उनी अभिनीत ‘परदेशी’ फिल्मले थुप्रै हलमा प्रदर्शनको ७५ दिन मनाएको थियो ।

०७२ सालको दसैमाँ प्रदर्शित नारायण रायमाझी निर्देशित परदेशीकी रजनी एकल हिरोइन हुन् । उनको जोडीका रूपमा तेस्रो इन्डियन आइडल प्रशान्त तामाङले अभिनय गरेका छन् । परदेशीपछि ‘ब्रास्लेट’, ‘लालजोडी’, ‘दीपज्योति’, ‘रमीता’, ‘पटुकी’, ‘उल्झन’लगायत फिल्ममा अभिनय गरेकी रजनी सबै फिल्ममा उत्तिकै मिहिनेत गरेकाले सबैबाट आशा लाग्ने बताउँछिन् । ‘मैले सबै फिल्ममा आफूले जाने/सकेसम्म मिहिनेत गरेकी छु । त्यसैले आफ्नो फिल्मबाट अवश्य पनि आस लाग्छ नै ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

रजनीले धेरैजसो नवअभिनेतासँग अभिनय गरेको देखिन्छ । सञ्चारकर्मीले नयाँ हिरोसँग अभिनय गर्नुको कारण सोधे । ‘कुनै दिन म पनि त नया थिएँ नि !,’ उनले भनिन्, ‘मैले लोफरमा दयाहाङ राई र आर्यन सिग्देल, बास्लेटमा रमेश उप्रेती, रमीतामा दिलीप रायमाझीजस्ता सिनियर र पपुलर एक्टरसँग काम गरेकी छु । कोही पनि नयाँ नभई पुरानो हुँदैन । पुराना या सिनियरसँग काम गर्दा मात्रै सफल भइन्छ भन्ने होइन । म सबै कलाकारको कलाको सम्मान गर्छु ।’

आफू अभिनीत फिल्म हिट हुँदा खुसी र फ्लप हुँदा दुःख लाग्नु स्वाभाविक भएको बताउने रजनी आफूलाई दुवै किसिमको अनुभव भएकाले हिट र फ्लपले कुनै नौलो अनुभव नदिने राय राख्छिन् । ‘मलाई फ्लप र सुपरहिट, दुुवैको अनुभव छ,’ उनले भनिन्, ‘सबै कलाकारलाई आफ्ना सबै फिल्म हिट होऊन् भन्ने लाग्छ । तर, त्यसमा कलाकारको मात्र हात हुँदैन ।

हामीले गर्ने मिहिनेत उत्तिकै हो । फिल्म चल्नु र नचल्नुमा एउटा मात्रै कारण काफी हुँदैन ।’ गाउँले परिवेशको पटुकी दर्शकले मन पराउने विश्वास रजनीको छ । ‘मलाई पटुकीप्रति अलि धेरै माया छ,’ उनले भनिन्, ‘त्यसैले त यस्तो अवस्थामा पनि मिडियामा आएकी छु ।’ डाक्टरले दुई साता पूर्ण रूपले आराम गर्ने सल्लाह दिएको भए पनि पटुकीको प्रचारप्रसारका लागि आफू लागिरहेको उनले बताइन् ।

अधिकांश दृश्य चितवनमा खिचिएको फिल्ममा रजनीका साथमा नवअभिनेता जेम्स बिसी, म्याक्टेन कालुलगायतले अभिनय गरेका छन् । निर्देशक राम आफैँले लेखेको फिल्ममा राजनराज सिवाकोटीको संगीत छ ।