बंगलादेशकी पुर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता खालिदा जियालाई भ्रष्टाचारको आरोपमा दोषी ठहर्याउँदै पाँच बर्षको जेल सजाय सुनाइएको छ ।
७२ बर्षिय खालिदामाथि अनाथ बच्चाका लागि विश्वभरीबाट संकलन गरिएको करिब २ लाख ५० हजार डलर दुरुपयोग गरेको मामिलामा मुद्दा चलिरहेको थियो । उक्त मामिलामा अदालतले उनलाई दोषी ठहर्याएको हो ।
बीडीन्युज २४ का अनुसार सेतो सारीमा अदालतमा उपस्थित भएकी खालिदालाई फैसला लगत्तै जेल पठाइएको थियो । जेल जाने समयमा खालिदाले रुँदै गरेका आफ्ना नातेदारलाई ‘चिन्ता नगर, बलियो बन्नु, म फर्केर आउँछु ‘ भनेको डेली स्टारले जनाएको छ । राजधानी ढाकाको एक अदालतले फैसला सुनाउँदै जजले भने– अदालतमा उनी विरुद्ध लागेको आरोप सही साबित भएको छ र उनको सामाजिक तथा सारीरिक स्थितिलाई ध्यानमा राखी उनलाई पाँच बर्षका सजाय सुनाइएको छ ।
फैसला सुनाउनु अगाडी अदालत बाहिर खालिदाका हजारौं समर्थक उपस्थित रहेका थिए । समर्थक भिडलाई तितर–बितर गर्न प्रहरीले अश्रु ग्यासको प्रयोग गरेका थिए । उक्त भ्रष्टाचारको मामिलामा खालिदा जियाका छोरा तारिक रहमानलाई उनको अनुपस्थितिमा १० बर्षको जेल सजाय सुनाइएको थियो । रहमान हाल लन्डनमा बस्दै आइरहेका छन् । (एजेन्सी)