प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधीको लागि पूर्वाञ्चल र एपीएफ भिड्ने छ ।
सेमिफाईनलमा जित निकाल्दै दुवै टोली उपाधिनजिक पुगेका हुन् । पूर्वाञ्चलले मध्यमाञ्चललाई ५३ रनले पराजित गरेको हो । विभागीय टोली एपीएफले घरेलु टोली सुदूरपश्चिमलाई ८१ रनले पराजित गरेको हो ।
पहिलो सेमिफाईनलको पहिलो खेलमा पूर्वाञ्चलले मध्यमाञ्चनलाई ५३ रनको फराकिलो जित निकाल्दै फाईनलमा स्थान सुरक्षित बनाएको हो । टस जितेर व्याटिङ गरेका पूर्वाञ्चलले काजोल श्रेष्ठको अविजीत ५५ रनको मदतले २० ओभरमा २ विकेट गुमाउँदै १ सय १९ रन बनायो । पूर्वाञ्चलका लागि अप्सरी बेगमले ३२ र कप्तान रुवीना क्षेत्रीले अविजीत रहँदै १४ रन बनाईन् । काजोल र अप्सरीबीच तेस्रो विकेटका लागि ८६ रनको साझेदारी भएको थियो । मध्यमाञ्चलकी रोजी कडारीले १ विकेट लिईन ।
१ सय २० रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको मध्यमाञ्चलले २० ओभवरमा सबै विकेट गुमाउँदै ६६ रन मात्रै बनाउन सफल रहे । मध्यमाञ्चलका लागि कञ्चन श्रेष्ठले २१ र सिता श्रेष्ठले १७ रन बनाईन् । पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्रीले ४ ओभरमा एक मेडन राख्दै ६ रन दिएर ३ विकेट लिईन् । सब्नव राई, सन्तोषी चौधरी र संगिता राईले समान १÷१ विकेट लिईन् । खेलको प्लेयर अफ द म्याच पुर्वाञ्चलकी काजोल श्रेष्ठ भईन् ।
दोस्रो सेमीफाईनलमा विभागीय टोली एपीएफ सुदूरपश्चिमलाई ८१ रनले पराजित गर्दै उपाधी नजिक पुगेको हो । टस हारेर व्याटिङको निम्तो पाएको एपीएफले २० ओभरमा ४ विकेटको क्षतीमा १ सय ३१ रन बनायो । एपीएफका लागि सिता रानामगरले ५१, सरीता मगरले ३७ र ज्योती पाण्डेयले १८ रन बनाईन् । ज्योती र सिताबीच पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे भने पिसता र सरिताबीच दोस्रो विकेटका लागि ४० रनको साझेदारी भएको थियो । सुदूरपश्चिमका लागि सुमन विष्ट, लक्ष्मी साउद र निशा भट्टले समान १÷१ विकेट लिईन् ।
१ सय ३२ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको सुदूरपश्चिम १९ ओभरमा सबै विकेट गुमाएर ५१ रन मात्रै बनाए । सुदूरपश्चिमका लागी निशा भट्टले ११ रन बनाउन बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । सुदुरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफकी सिता मगर, करुण भण्डारीले समान ३÷३ विकेट लिए भने अन्जली चन्दले २ तथा सिता रानामगरले १ विकेट लिईन् । खेलको प्लेयर अफ द म्याच सिता राना मगर भईन् । फाईनल खेल भोली फाप्ला क्रिकेट मैदानमा हुने छ ।