प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जितेको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा पूर्वाञ्चललाई ७ विकेटको जित निकाल्दै एपीएफले राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको च्याम्पीयन बनेको हो ।
चिरप्रतिद्वन्द्वी विभागीय टोली एपीएफ र पूर्वाञ्चलबीच भएको फाईनलमा जित दर्ता गर्दै एपीएफले ५ लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो । उपविजेता बनेका पूर्वाञ्चलले भने २ लाख नगदसहित ट्रफीमा चित्त बुझाएको छ ।
टस हारेर व्याटिङको निम्तो पाएको पूर्वाञ्चलले २० ओभरमा ५ विकेट गुमाउँदै ६० रन मात्रै बनाउन सफल रहे । पूर्वाञ्चलका लागि काजोल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाए भने एपीएफका लागि रेखा रावल, करुणा भण्डारी, रितु कनौजीया, अञ्जली चन्द र सिता रानामगरले समान १÷१ विकेट लिइन् ।
६१ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको एपीएफले १६ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेटाएका छन् । एपीएफका लागि ज्योती पाण्डेयले २२ र सरिता मगरले अविजीत रहँदै १५ रन बनाईन् । पूर्वाञ्चलकी शान्ती चौधरी र संगिता राईले समान १÷१ विकेट लिए ।
प्लेयर अफ द फाईनल एपीएफकी ज्योती पाण्डेय भइन् । यस्तै प्रतियोगिताको वुमन अफ द सिरिज हुँदै पूर्वाञ्चलकी कप्तान रुवीना क्षेत्रीले १० हजार नगदसहित ट्रफी प्राप्त गरेकी छिन् । उत्कृष्ट बलर पनि क्षेत्री नै भएकी छिन् भने उत्कृष्ट व्याट्सम्यान पनि प्रतियोगीता भरी १ सय ६ रन बनाउँदै पूर्वाञ्चलकै काजोल श्रेष्ठ भईन् । उदयमान खेलाडी सुदूरपश्चिमकी लक्ष्मी साउद भईन् भने फेयर प्लेटको पुरष्कार पनि सुदूरपश्चिमको टिमले जितेको छ । उनीहरुलाई नगद ५ हजार सम्मान गरिएको छ ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रदेश नम्बर ७ का सामाजिक विकासमन्त्री दीर्घ सोडारी कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहले शिल्ड तथा प्रमाण पत्र वितरण गरे ।