पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने नेपाल भ्रमणको क्रममा सोमबार काठमाडौं आउँदैछन् । ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी सोमबार अपरान्ह सवा तीन बजे नेपाल आउन लागेका हुन् ।
पाकिस्तानी प्रधानमन्त्रीको आकस्मिक नेपाल आगमनलाई कुटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । उनले नेपालमा करिव २० घण्टा बिताउनेछन् र यसबीचमा राजनीतिक भेटवार्ता पनि गर्नेछन् ।
आफ्नै विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गर्नेछन् ।
विमानस्थलबाट उनी सीधै ह्यात होटलमा जानेछन् । त्यसपछि सैनिकमञ्च टुँडिखेल पुग्नेछन् जहाँ उनको सम्मानमा नेपाली सेनाको टोलीले ‘गार्ड अफ अनर’ प्रदान गर्नेछ ।