संघीय नेपालको पहिलो राष्ट्रपति चयनका लागि चुनावी प्रक्रिया शुरु भएको छ । निर्वाचन आयोगले राष्ट्रपति चुनावका लागि सोमबार मतदाता नामावली प्रकाशिन गर्दैछ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरभित्र स्थापना गरिएको राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा मतदाताको नाम सार्वजनिक गरिने आयोगले जनाएको छ ।
राष्ट्रपति चयनका लागि फागुन २९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारले फागुन २३ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनपत्र दर्ता गर्नुपर्नेछ । भोलिपल्ट आयोगले उम्मेदवारको दाबी विरोधमा उजुरी लिनेछ र परेका उजुरीबारे जाँचबुझ गरेर फागुन २४ गते उम्मेदवारको नामावली प्रकाशित गर्नेछ ।
उम्मेदवारी फिर्ता लिन फागुन २४ गतेको मिति तोकिएको छ र अन्तिम नामावली त्यसको भोलिपल्ट प्रकाशित हुनेछ । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुने संविधानमा उल्लेख छ ।