जटिल बन्दै उपत्यकाको फोहोर व्यवस्थापन, सिसडोल अव ३ महिना

0

ईश्वरराज ढकाल

सरकारले फोहोर व्यवस्थापनमा ध्यान दिएन भने अवको ३ महिनापछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने भएको छ । नेपालको संविधान २०७२ अनुसार स्थानीय तहलाई फोहोर व्यवस्थापन गर्ने अधिकार दिएपनि केन्द्रीय सरकारले बजेट उपलब्ध नगराउदा फोहोर व्यवस्थापन गर्ने काम विकराल बन्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन ।

उपत्यकाका तीन सहित ६ जिल्लाका २२ स्थानीय निकायको फोहोर व्यवस्थापन गर्ने थलो सिसडोल ल्याण्डफिल साइट भरिएको छ । लगातारको वर्षाको कारण फोहोर व्यवस्थापन गर्न कठिन बन्दै गएको छ । सिसडोलमा फोहोर खसाल्न गएका सवारी साधन घण्टौं लाइन बस्न बाध्य हुने गरेका छन् ।

कतिपय सवारी चालक त दुई दिनसम्म सिसडोलमै बसेर एक ट्रिप फोहोर खसालेर फर्कने गरेका छन् । फोहोरको थुप्रोमा निर्माण गरेको हिलाम्य बाटो पार गरी फोहोर व्यवस्थापन गर्नुपर्ने भएकोले दिनहुजस्तो समस्या आउने गरेको छ । काठमाडौ महानगरपालिका एक्लैले सिसडोल ल्याण्डफिलका लागि दैनिक १ लाख रुपिया सिसडोलमा खर्च गर्ने गरेको छ ।

-राज्यले सहयोग नगर्दा गम्भीर समस्याः कामपा
-हामीले मात्रै होइन सबै स्थानीयले चासो दिनुप¥यो

सरकारले कम्तीमा पनि पाँच वर्षकालागि वैकल्पिक ल्याण्डफिल साइटको व्यवस्था नगरे अबको तीन महिनापछि उपत्यकाको फोहोर व्यवस्थापन गर्न नसकिने कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरीबहादुर कुवँरले बताउनुभयो ।

उहाका अनुसार राजधानी लगायत स्थानीय तहको फोहोर व्यवस्थापन गर्न नसक्दा समस्या बिकराल बन्दै गएको छ । अहिले सिसडोलाई ल्याण्डफिल भन्दापनि डम्पिङसाइट भन्ने अवस्था र्सिजना भएको छ । लिचेड कहा व्यवस्थापन भैरहेको छ अत्तोतत्तो छैन, जताततै आफुखुसी फोहोर व्यवस्थापन गरिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

वैकल्पिक स्थान नभएको कारण फोहोर व्यवस्थापनमा समस्या आएको बताउदै कामपा वातावरण व्यवस्थापन समितिका संयोजक एवं कामनपा १२ का अध्यक्ष विकास डंगोलले राज्यले ध्यान नदिदा समस्या आएको बताउनुभयो ।

महानगरद्धारा गठित समितिका सदस्य एवं वडा नम्वर ४ का अध्यक्ष मोहन विष्ट, २६ वडा अध्यक्ष ख्यामराज तिवारी र वडा नम्बर १७ का कार्यपालिका सदस्य प्रेम पुजारी सहितको टोली ल्याण्डफिल साइट अवलोकन गर्न पुगेका थिए ।


अहिले सिसडोलमा सामान्य बाटो मर्मत गरेपछि नगन्य मात्रामा फोहोर व्यवस्थापन भैरहेको छ । पानी परेपछि बाटो हिलाम्य हुन्छ । सवारी साधन संचालन हुनै सक्दैन पानी नपरेको बेला झण्डै १ सय ५० सवारी साधनले फोहोर व्यवस्थापन गर्दा घण्टौ लाग्ने गरेको छ ।

तीनपिप्ले देखि ल्याण्डफिल साइटसम्म जाने बाटो व्यववस्थित भएपनि मुड्खुदेखि जितपुफेदी सम्मको बाटोमा खाल्डैखाल्डा भएको छ । अन्य स्थानको बाटो भन्दापनि ल्याण्डफिल साइटको बाटोले समस्या पारेको विभागीय प्रमुख कुँवरले बताउनुभयो ।

दैनिक एक हजार टन फोहोर व्यवस्थापन हुने सिसडोलमा अहिले करिब ४ सय टनमात्रै फोहोर व्यवस्थापन हुने गरेको छ । कÞरीब ५० मिटर उचाइसम्म फोहोर माथी नै निर्माण गरेको सिसडोल ल्याण्डफिल साइटको प्रवेश मार्ग बर्षाद र फोहरको अत्याधिक भारले भासिएको छ ।

जापान सहयोग नियोग (जाइका) को सहयोगमा २०६२ सालमा निर्माण गरेको सिसडोल ल्याण्डफिल साइटको क्षमता सकिसकेको छ । २ बर्षको क्षमता रहने गरी निर्माण गरेको सो ल्याण्डफिल साइटको विकल्पको रुपमा रहेको वञ्चरेडाडाको ल्याण्डफिल साइट निर्माण गर्न सकिएको छैन ।

करिब दुई साता अघि फोहोर व्यवस्थापन समस्याले बिकराल रुप लिदै गएपछि उपत्यका लगायतका २२ स्थानीय निकायको बैठकले कामपाका सहसचिव ईश्वरचन्द्र मरहठ्ठाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । समितिले काम गरेपनि ब्यवस्थापनको भने अहिले सम्म निकर्षमा पुग्न सकेको छैन ।

२०६२ साल जेठ २२ गते देखि काठमाडौं र ललितपुरमा उत्पादन भएको फोहोर ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको थियो । त्यस क्षेत्रमा फोहोर व्यवस्थापन गर्न थाल्दा साइटको क्षमता ३ बर्ष हुने अनुमान गरिएको थियो ।

तत्कालिन अवस्थामा काठमाडौं महानगर र ललितपुर उपमहानगर बाट दैनिक ३ सय ७५ मेट्रिक टनसम्म फोहोर पुग्ने गरेको थियो । अहिले दैनिक झण्डै १ हजार टन फोहोर जाने गरेको छ ।

सरकारले ३ बर्षभित्र बञ्चरे डाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन शुरुवात गर्ने लक्ष्य थियो । तोकिएको समयको भन्दा १० बर्ष पछि पनि बञ्चरे डाँडाको पूर्वाधार बन्न सकेको छैन ।

पुर्वाधार बन्न नसक्दा अहिले सबै निकायको फोहोर सिसडोलमा व्यवस्थापन हुने गरेको छ । नुवाकोट र धादिङ जिल्लाको सीमानामा पर्ने बञ्चरे डाँडाको जग्गा प्राप्तिको काम सकी सरकारबाट वातावरणीय प्रभाव मूल्याङ्कन पनि गराइएको छ । बञ्चरेडाँडामा १ अर्ब रुपैयाँ खर्च भइसकेपनि पूर्वाधार भने केहीबनेको छैन ।