असोज २४ गते घटस्थापनाको दिनबाट चलचित्र ‘छक्का पञ्जा–३’ प्रदर्शनमा आउने भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्माण समूहले चलचित्रको ट्रृेलर र प्रदर्शनको मिति एकै साथ सार्वजनिक गरेको हो ।
कलाकार दीपकराज गिरीले असोज २४ गते घटस्थापनाबाट ‘छक्का पञ्जा–३’ र असोज ३० गते फूलपाटीबाट ‘जय भोले’ प्रदर्शन गर्ने गरी सहमति जुटेको जानकारी दिए । यी दुई चलचित्र एकैसाथ प्रदर्शनमा आउने भनेर यसअघि प्रचार भएको थियो ।
निर्देशक दीपाश्री निरौलाले अघिल्ला चलचित्रको ट्रेलरमा विषयवस्तु सस्पेन्स राखिने गरेकोमा यसपालि भने खुलाइएको जानकारी दिईन् । निर्देशक निरौलाले भनिन्, चलचित्रमा महिला र पुरुष समान हुन् भन्ने देखाउने प्रयास गरिएको समेत दाबी गरिन् ।
‘छक्कापञ्जा–३’ मा दीपकराज गिरी, नीर शाह, किरण केसी, लक्ष्मी गिरी, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसाईं, शिवहरि पौडेललगायतको अभिनय छ भने चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे र यामन श्रेष्ठको संवाद छ । अर्जुन पोखरेल र दीपक शर्माले सङ्गीत दिएका छन् ।
जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माताको रूपमा छन् भने कलाकार किरण केसी, सुमन गिरी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगार्इं, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेका छन् ।