फिल्म ‘जात्रै जात्रा’ निर्माणको घोषणा गरिएको छ । फिल्म फागुन १७ गतेलाई प्रदशन मिति तय पनि गरेको छ । आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरिएको प्रदीप भट्टराइको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रको निर्माण घोषणा गरिएको हो ।
यो चलचित्रको छायांकन कार्तिक ११ गतेबाट शुरू हुनेछ । ३५ दिन लगाएर चलचित्रलाई असन र बौद्धमा खिचिनेछ । फिल्म विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठीलगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
कार्यक्रमका विशेष अतिथि कलाकार हरिवंश आचार्यले ‘जात्रा’ले नयाँ रेकर्ड बनाओस् भन्दै शुभकामना दिएका थिए । फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन् भने सिंगे लामा र यादव पौडेलको लगानी रहनेछ । शिवराम श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ । कार्यक्रममा बोल्दै नायक विपिन कार्कीले ‘जात्रा’बाट सबैको माया पाएको भन्दै त्योभन्दा राम्रो काम यसमा गर्ने बताए ।
नायिका वर्षा राउतले फेरी पनि यो टिमसँग काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् । यस्तै, चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले फिल्मको कथा ‘जात्रा’को भन्दा पनि उत्कृष्ट भएकाले निर्माण गर्न लागेको बताए । निर्देशक प्रदीप भट्टराईले आफूलाई ‘त्र’ खुबै फापेको बताए । यसैले पनि ‘जात्रै जात्रा’ सफल हुने उनको भनाई थियो ।