१८ औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको व्यक्तिगत एक्युरेसीको पहिलो २ राउन्डको खेल सकिँदा नेपालका विजय गौतम तेस्रो स्थानमा छन् ।
पहिलो स्थानमा इन्डोनेसियाका मेगावान्तो जाफ्रो छन् । यस्तै दोस्रो स्थानमा थाइल्यान्डका विटेहाम जिरासाक छन् । यो प्रतिस्पर्धाको तेस्रो राउन्ड केहि खेलाडीले सकेपनि नेपालका गौतमले खेल्न बाँकी छ । ६ राउन्डसम्म चल्ने यो प्रतिस्पर्धा बुधबार सकिने नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले जानकारी गराए । यो इभेन्टमा २९ खेलाडीले भाग लिएका छन् । अर्का नेपाली खेलाडी सुशील गुरुङ्ग भने २५औं स्थानमा छन् ।
उता एक्युरेसीको महिला टिम इभेन्टको दोश्रो चरण समाप्तिमा नेपाल चौथो स्थानमा छ । इन्डोनेसिया पहिलो स्थानमा छ भने दक्षिण कोरिया दोस्रो र थाइल्यान्ड तेस्रो स्थानमा छन् । यो इभेन्टमा ९ राष्ट्र सहभागी छन् ।
पुरुष टिम इभेन्टको २ चरण सकिदा नेपाल आठौं स्थानमा छ । यो स्पर्धा पनि इन्डोनेसिया पहिलो स्थानमा छ भने थाइल्यान्ड दोस्रो र चीन तेस्रो स्थानमा छ । यो इभेन्टमा १५ देशबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टमा पनि प्रतिस्पर्धा गर्न बाँकी छ ।