२७ मंसिरको मध्यरातमा काठमाडौंको दरबारमार्गस्थित इलेक्ट्रोनिक डान्स म्युजिक (ईडीएस) का फ्यानहरु पाँच हजार रुपैयाँको टिकट काटेर एक अमेरिकी डिजेको प्रतिक्षा गरिरहेका थिए । उनी थिए, इन्टरनेटमा आफ्नो अधिकांश संगीत सित्तैमा बाँडेर पनि एक वर्षमा २१ मिलियन डलर (करिब सवा दई अर्ब रुपैयाँ) कमाउन सफल डिजे मार्समेलो । ३ मार्च २०१५ मा साउन्डक्लाउडमा आफ्नो पहिलो गीत ‘वेभ्ज’ अपलोड गरेका डिजे तथा संगीत निर्माता मार्समेलोले थप गीत अपलोड गर्दै गएपछि दिन दुगुणा, रात चौगुणा चर्चा बटुले । तिनै मार्समेलालाई पर्खिरहेका नेपाली फ्यानले उनी नआउने खबर पाएपछि क्लब डेजाभुमा तोडफोड गरे । मार्समेलोले आफ्नो फेसबुक, ट्विटर, इन्स्टाग्राममा स्वाथ्यको कारण देखाएर आउन नपाएकोमा माफी मागेका थिए । आजको नयाँ पत्रिका खबर छ ।
‘नेपाल, काठमाडौंको डेजाभुमा हुने भनिएको मेरो प्रस्तुतिमा आउन नसक्ने भएकाले माफी चाहन्छु । ज्वरोले सिकिस्त भएका कारण म आउन सकिनँ । म आउन त खोजेको थिएँ, तर डाक्टरले आउन दिएनन् । स्वास्थ्य सुरुमा आउँछ । आई लभ यु नेपाल मेलोग्याङ । समस्या बुझिदिनुभएकोमा धन्याद, आशा छ, हाम्रो भेट छिट्टै हुनेछु’ मार्समेलोले ट्विट गरे । यो खबर आयोजकले त्यहाँ उपस्थितलाई दिएको केही समयमै डेजाभु ध्वस्त भइसकेको थियो ।