बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राष्ट्रिय पुनर्र्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी आर्थिक वर्ष ०७५/७६ को लागि पैसाको अभाव हुने बताएका छन् ।
उनले भने, यो आर्थिक वर्षसम्म रकमको कुनै अभाव नहुने भए पनि अर्को वर्षको लागि झण्डै साँढे तीन खर्ब पैसा चाहिने भएकोले दाता सम्मेलनको आन्तरिक गृहकार्यमा प्राधिकरण जुटिरहेको जानकारी दिए ।
अन्र्तरराष्ट्रिय दाता सम्मेलन ०७५ को असारसम्ममा हुन्छ, हामी आन्तरिक गृहकार्यमा जुटिरहेका छौं, दाता सम्मेलनको आयोजना गर्नेबारे हाम्रो सोच बनिसकेको छ।
साक्षात्कारमा बोल्दै उनले ७ खर्बको नोक्सानी भएकोले पूर्ननिर्माणको लागि झण्डै ९ खर्ब चाहिने आफुहरुको प्रक्षेपण भएको बताए । उनले भने, ‘४२ अर्ब नेपालको आन्तरिकबाटै र ३०र३२ अर्ब दातृ निकायबाट काम भएको छ, भारतबाट एक खर्ब आउन बाँकी नै छ, २५ अर्ब आउने प्रक्रिया सुरु भैसकेको छ, ७५ अर्ब लाईन अब क्रेडिट भएकोले आउँछ।’
प्राधिकरणको ऐन पूर्ननिर्माणमैत्री नभएकोले काममा ढिलाई र खर्च गर्न क्षमतामा कमी आएको पनि उनले गुनासो पोखे । उनले भने,‘ऐन प्रभावकारी नहुँदा ढिलाई भएको हो, प्राधिकरणलाई स्विपिङ् पावर दिएको भए अहिले खर्च पनि प्रभावकारी रुपमा हुन्थ्यो नि।’
यो आर्थिक वर्ष चुनाव सम्पन्न भएकोले बैंकहरुमा समेत पैसाको अभाव रहेको उनको भनाई थियो । अनुदान दिनेबारे आफूहरुले बैंकसँग लगातार छलफल गरिरहेको जानकारी दिँदै भने,‘हामी उहाँहरुसँग चरणवद्ध छलफलमा छौं, ७५३ वटै स्थानमा बैंक शाखा खोल्नुपर्ने प्रावधान जो छ, उहाँहरुले सबैको ग्यारेण्टी खोज्नुभएको छ, अहिले छलफल चलिरहेको छ।’