आज महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षमा बसेको बैठकले भूकम्पले ध्वस्त रानीपोखरीलाई पुरानै शैलीमा पुनर्निर्माण गर्ने काठमाडौ महानगरपालिकाले निर्णय गरेको छ ।
रानी पोखरीलाई प्रताप मल्लकालीन शैली, स्वरुप र निर्माण सामाग्रीको प्रयोग गरेर पुनर्निर्माण गर्ने निर्णय गरेको हो ।
बैठकमा शाक्यसहित उपप्रमुख हरिप्रभा खड्गी, पुनर्निर्माण प्राधिरकणका सचिव, पुरातत्व विभागका महानिर्देशक समेतको सहभागिता रहेको थियो ।
यसबारे अध्ययन गरी १५ दिनभित्र सुझाव दिन विज्ञ समिति बनाइएको छ । पुरातत्वका पूर्व महानिर्देशक विष्णुराज कार्की संयोजक रहेको समितिको सल्लाहकारमा रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वमेयर केशव स्थापित र रञ्जु दर्शना छन् ।
विशेषज्ञ समितिको प्रतिवेदन आएर अर्को निर्णय नभएसम्म पुनर्निर्माणको काम रोक्ने निर्णय भएको मेयर शाक्यले बताए ।
रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले कंक्रिट हालेपछि सम्पदाविदहरुले विरोध गरेका थिए ।