फिल्म ‘हाँसी देऊ एक फेर’ को सुटिङमा लड्नुपर्ने दृश्यमा अभिनय अभिनेता मदनकृष्ण श्रेष्ठको ढाड दुख्यो । तर, दुखाइलाई बेवास्ता गर्दै सुटिङ जारी राखे । त्यो सुटिङ सकिएको केही महिनापछि ‘हिंसा अन्त्य अभियान’का लागि प्लेनमा नेपालगञ्ज जाँदा उनको दाहिने काँध हात दुख्यो ।
‘हात दुख्न थालेपछि डाक्टरलाई देखाएँ । सेकताप, अकुपेन्चर, रेडियो थेरापी सबै गराएँ । तर, पनि ठिक भएन । जाडो महिनामा पनि हात उठाएर सुतें ।’
अभिनेता श्रेष्ठले सुनाएको माथिको कथा कुनै फिल्मको दृश्य थिएन । पार्किन्सन्सका रोगी अभिनेता श्रेष्ठको वास्तविक कथा थियो जुन डकुमेन्ट्रीमा कैद भएको थियो । उनीजस्तै पार्किनसन्स पीडित व्यक्तिहरूको जीवनी समेटिएको ‘लिभिङ विथ पार्किन्सन्स डिजिज’मा अभिनेता श्रेष्ठले पनि रोगसँगको साक्षात्कारका सम्बन्धमा आफ्नो अनुभव सुनाएका थिए ।
उनले डकुमेन्ट्रीमा रोग लागेको खबरले आफूले धेरै नै आहत बनाएको बताए ।
‘ लामो समयपछि डाक्टरले मलाई पार्किन्सन्स भएको पत्ता लगाए । त्यो सुन्दा सुरुमा म त झस्किएँ । डाक्टरले उच्च डोजको दबाई खान सल्लाह दिए । बाहिर चेकजाँच गराउँदा दिइएको औषधि तुरुन्तै नखाइ आफ्नो जाँच गर्ने चिकित्सकलाई देखाएर मात्र खानु भन्ने सल्लाह नै दिए ।’ आजको नागरिकमा यो खबर छ ।
घरमा श्रीमति क्यान्सरलाई क्यान्सर भएको पत्ता लागेपछि उनलाई लिएर बैंग्लोर, दिल्लीलगायतका देशमा गए । त्यहाँ लिएको औषधि खान पनि उनी डराए । बैंग्लोरका डाक्टरले हाइ डोजको औषधि दिएपछि मात्र उनलाई पार्किन्सन्सको औषधि हो भन्ने ढुक्क भयो । ‘पार्किन्स भएपछि हिँड्दा पनि खुट्टा घस्रन थाल्यो । आवाजले नै छिमेकीले मदनकृष्ण आउँदैछ है भन्थे,’वृत्तचित्रमा मदनकृष्णले स्मरण गरे,‘यसको औषधिले केही समय मात्र काम गर्दो रहेछ । सार्वजनिक कार्यक्रममा गइरहनुपर्छ । त्यस्तो कार्यक्रममा भाषण गर्दा धेरै बेर बोलेपछि जिब्रो पनि लर्बरिने अनि बोलेको कुरा पनि बिर्सिइदो रहेछ ।’
मदनकृष्णभन्दा उमेरले धेरै कान्छी बनिता खनालको पीडा मदनकृष्णकोभन्दा फरक छ । सानैदेखि ठूलो भएर सगरमाथा चढ्ने सपना साँचेकी बनितालाई १९ वर्षको उमेरमा पार्किन्सन्सको लक्षण देखिएपछि उनको सपना कलिलै उमेरमा तुहियो । हात र खुट्टा अनौठोगरि चल्न थालेपछि उनको परिवारले धामी झाँक्री देखाउने काम पनि गर्योे । तर, केही बदलिएन । ‘स्कुलको कक्षामा लेख्दा हातको औलामा लेख्ने शक्ति नै हुँदैन थियो ।
मलाई हिलवाला सेन्डल, फेन्सी कपडा लगाउन मन लाग्थ्यो । तर, शरीरको कारण त्यो लगाउन सकिएन,’भावुक बन्दै उनले भनिन्,‘एकपटक साथीको विवाहमा जाँदा अचानक लडें । सबैले के भयो भनेर सोध्न थाले । तर, के भएको हो थाहा नै पाइएन । पछि चेकजाँच गरेपछि पार्किन्सन्स हो भन्ने पत्ता लाग्यो ।’ पार्किन्सकै विषयमा वृत्तचित्र बनाउने क्रममा मदनकृष्णसँग भेट भएपछि बनितामा एउटा नयाँ हौसला आएको छ ।
ट्रिलोजी डिजिटल मिडिया टिमको सहयोगमा इन्फ्ल्युन्सर नेपालले आयोजना गरेको वृत्तचित्र प्रदर्शनीको बनिता मध्यस्थकर्ता पनि हुन् । लामो समयदेखि पार्किन्सन्सको विषयमा वकालत गर्दै आएकी बनिताले आम जनमानसमा पार्किन्सन्सबारे चेतना जगाउन वृत्तचित्र निर्माण गरेको बताइन् । ‘हामीले पार्किन्सन्सको लक्षण, यसको डायग्नोसिसको प्रक्रिया र त्यसपछिको जीवनलाई कसरी बिताउने भन्ने चेतना वृत्तचित्रमार्फत दिन चाहन्छौं ’ बनिताले भनिन् ।
वृत्तचित्रमा मदनकृष्ण र बनितासहित हरि काफ्ले र तिलकबहादुर सापकोटाको कथा प्रस्तुत गरिएको छ । चार वर्षअघि दाहिने काँध दुखेर बाँसबारी अस्पताल पुगेका हरिले झण्डै पाँच महिनासम्म हात दुखेको औषधि खाए । ‘प्यारालाइसिस जस्तो हुन थालेपछि कलकत्ता गएर जाँच गराउँदा पार्किन्सन्स भन्ने थाहा पाएँ । त्यसपछि नियमित औषधि सेवन गरिरहेको छु,’कपडा व्यवसायी उनले भने,‘लेख्न मिल्दैन । त्यसकारण चेकको कारोबार गर्न समस्या परेको छ । यात्रा गर्दा पनि निकै कमजोर महसुस गर्ने गरेको छु । चार वर्षयता दुःखको जीवन बिताउन बाध्य छु ।’ पसलमा अनेक थरिका ग्राहक आउने भएकाले पनि कर्मचारीलाई जिम्मा लगाएर बाहिर निस्कने गरेको उनले सुनाए ।
होटल मेनेजमेन्टका प्राध्यापक तिलक ६ वर्षदेखि पार्किन्सन्सबाट पीडित बिरामी हुन् । प्रारम्भिक चरणमा जिउमा केही बदलाव आएपछि डाक्टरलाई देखाउँदा उनलाई पार्किन्सन्स भएको खुलेको थियो । ‘पार्किन्सन्सपछि जीवन बदलिएको छ । ट्रेकिङमा जान रुचाउने म यो रोग लागेपछि उकालो हिँड्न सक्दिन । जिउ कमजोर भएर आउँछ,’उनले भनेका छन् ‘रोग देखिएपछि जिउले शारीरिक व्यायाम पाएको छ । त्यो सकारात्मक कुरा हो ।
छिमेकी साथीभाइलाई मलाई पार्किन्सन्स छ भन्ने थाहा छ । तर, मेरो बारे थाहा नपाउनेले बिरामी छ भनेर हल्ला फिजाउँछन् । बनिताका अनुसार झण्डै एक महिना लगाएर निर्माण गरिएको यो वृत्तचित्रलाई चाँडै नै अन्य स्थानमा पनि देखाइनेछ । ‘अन्य स्थानमा देखाउने योजना बनाइरहेका छौं, तर कहिले गर्ने भन्ने टुंगो छैन ।’