निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ ।
निर्वाचन आयोगका पदाधिकारीहरुले आइतबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको परिणाम बुझाएका हुन् ।
संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभा परिणाम राष्ट्रपतिलाई बुझाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । गएको बुधबार ५६ जना सदस्यका लागि भएको राष्ट्रियसभा निर्वाचनको परिणाम बिहीबार सार्वजनिक गरिएको थियो ।
सोही विवरण आयोगले ७ दिन भित्र राष्ट्रपति समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ । संविधान र कानुनको परिधिभित्र रहेर ढिला नगरी राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेश गरिएको पनि निर्वाचन आयोगका प्रवक्ता ढकालले बताए ।
राष्ट्रियसभा निर्वाचनमा एमाले २७ सिटमा विजयी भएर पहिलो दल बन्न सफल भएको थियो ।
त्यसैगरी नेपाली कांग्रेस १३, नेकपा माओवादी केन्द्र १२, राष्ट्रिय जनता पार्टी, नेपाल २ र संघीय समाजवादी फोरम, नेपाल २ स्थानमा विजयी भएका छन् ।
५९ सदस्यीय राष्ट्रियसभालाई पूर्णता दिन राष्ट्रपतिले सरकारको सिफारिसमा ३ सदस्य मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।